चट्याङले लियो हजार बढीको ज्यान

काठमाडौँ : गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार नेपालमा विगत १२ वर्षमा चट्याङका घटनाबाट ठूलो जनधनको क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका वरिष्ठ हाइड्रोलोजिस्ट राजेन्द्र शर्माका अनुसार विसं २०७० वैशाख १ गतेदेखि विसं २०८२ फागुन मसान्तसम्मको अवधिमा देशभर तीन हजार ३ सय ८६ वटा चट्याङका घटना दर्ता भएका छन् ।

ती घटनामा कुल एक हजार ७३ जनाको ज्यान गएको छ । तीमध्ये ४ सय ६० पुरुष, ३ सय ३ महिला र ३ सय १२ जनाको पहिचान खुल्न सकेको छैन । चट्याङबाट तीन ४ सय ८ जना घाइते भएका छन् । तीमध्ये एक हजार ३ सय १७ पुरुष, एक हजार ६ सय ३३ महिला छन् । चार हजार २ सय ९४ परिवार चट्याङका कारण प्रभावित बनेका केन्द्रले जनाएको छ । साथै एक सय चार घरमा पूर्ण र तीन सय ९० घरमा आंशिक रूपमा क्षति पुगेको छ ।

पूर्वाधारतर्फ एक सय १४ गोठमा क्षति पुगेको छ भने चार हजार ८ सय ४९ वटा पशुचौपायामा क्षति पुगेको छ । केन्द्रका अनुसार चट्याङका घटनाबाट कुल ११ करोड ८२ लाख १८ हजार २ सय ६० बराबरको अनुमानित आर्थिक क्षति भएको वरिष्ठ हाइड्रोलोजिस्ट शर्माले जानकारी दिए ।

विसं २०७० देखि २०८२ सम्मको अवधिमा मकवानपुरमा सबैभन्दा बढी १ सय ८२ वटा चट्याङका घटना दर्ता भएका छन् । उक्त जिल्लामा २१ पुरुष र २० महिला गरी ४१ जनाको मृत्यु भएको छ भने ७५ जना घाइते भएका छन् । साथै तीन सय परिवार प्रभावित भएका छन् । झापामा एक सय १३ घटना, उदयपुरमा एक सय चार, दैलेखमा एक सय पाँच र मोरङमा ९५ वटा घटना दर्ता भएका छन् । मानवीय क्षतिको हिसाबले मकवानपुरमा सबैभन्दा बढी ७५, मोरङमा ४२ र उदयपुरमा ३९ जनाको मृत्यु भएको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

पूर्वी पहाडी जिल्लामा पनि चट्याङको प्रभाव उल्लेखनीय देखिएको केन्द्रको भनाइ छ । खोटाङमा ९२, सङ्खुवासभामा ८६, र ओखलढुङ्गामा ७६ वटा घटना दर्ता भएका छन् । यसले यी क्षेत्रमा चट्याङको निरन्तर जोखिम देखाएको छ । मधेस प्रदेशअन्तर्गत सप्तरी, सिराहा, धनुषा, पर्सालगायत जिल्लामा दर्जनौँको मृत्यु भएको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको विवरणमा उल्लेख छ ।

पश्चिम नेपालतर्फ रोल्पामा ९१, गुल्मीमा ७२, प्युठानमा ७२ र अछाममा ७३ वटा घटना दर्ता भइका छन् । आर्थिक क्षतिमा झापामा सबैभन्दा बढी करिब एक करोड सात लाखबराबरको क्षति भएको छ भने खोटाङ, उदयपुर र सङ्खुवासभामा पनि बढी नोक्सानी भएको छ । यसैबीच, विज्ञहरूले मनसुन र प्रि–मनसुन अवधिमा चट्याङका घटना बढी हुने भएकाले सचेतना अभिवृद्धि र सुरक्षात्मक उपाय अपनाउन आवश्यकमा जोड दिएका छन् ।

विसं २०७९ देखि विसं २०८१ सम्मको तथ्याङ्क विश्लेषण गर्दा चट्याङबाट वार्षिक औसत रूपमा ६७ जनाको मृत्यु हुने गरेको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्कले देखिएको छ । गृह मन्त्रालयको तथ्याङ्क अनुसार विसं २०७७ मा दुई दुई ४८ वटा घटना हुँदा ७० जनाको मृत्यु र दुई सय ४८ जना घाइते भएका थिए । विसं २०७८ मा घटनाको संख्या दुई सय तीनमा झरेकामा ती घटनामा ५६ जनाको मृत्यु र एक सय ७९ जना घाइते भएका थिए ।

वरिष्ठ हाइड्रोलोजिष्ट शर्माका अनुसार विसं २०७९ मा दुई सय ९० घटना दर्ता हुँदा ८४ जनाको मृत्यु, दुई सय ३८ जना घाइते, विसं २०८० मा दुई सय ४७ घटनामा ४४ को मृत्यु र दुई सय २८ घाइते, विसं २०८१ मा चार सय ३६ घटना हुँदा वर्ष ७९ जनाको मृत्यु र तीन सय २२ जना घाइते भएका छन् । विसं २०८२ को वैशाखदेखि चैत्र १४ गतेसम्मको अवधिमा चार सय ४ सय १६ घटना हुँदा ४७ को मृत्यु र तीन सय सात जना घाइते भएका उनले जनाए ।

यसैबीच, जल तथा मौसम विज्ञान विभागको प्रवक्ता एवं मौसमविद् विभूती पोखरेलले हावाहुरी चलिरहेको तथा चट्याङ परिरहेको समयमा घरबाहिर ननिस्कन सबैलाई आग्रह गरे । विभागका मौसमविद् गोविन्द झाले चट्याङ्ग (आकाशीय बिजुली) आउन लागेको छ कि छैन भनेर सर्वसाधारणले केही स्पष्ट प्रारम्भिक सङ्केतबाट पहिचान गर्न सक्ने बताए । उनका अनुसार अस्थिर वायुमण्डल, दिउँसो गर्मी बढ्नु र विस्तारै कालो बादल लाग्नु, बादल तीव्रगतिमा सर्नु र अचानक चिसो हावा चल्नु चट्याङको प्रमुख सङ्केत हुन् ।

टाढाबाट गड्याङगुडुङको आवाज सुन्नु पनि चट्याङ्ग आगमनको स्पष्ट सङ्केत रहेकाकाले आवश्यक सावधानी अपनाउनुपर्नेमा मौसमविद् झाले जोड दिए । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आकाशमा बिजुली चम्किन थाली गड्याङगुडुङ गर्न थालेपछि सतर्क हुने र नजिकै कुनै घर वा संरचना भए भित्र जानुपर्ने जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रकाशन गरेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी हाते पुस्तकका अनुसार चट्याङ बादलदेखि जमिनमा बग्ने ठूलो मात्राको विद्युतीय करेन्ट हो । फरक उचाइमा रहेका र विपरीत चार्ज रहेका बादलहरू नजिक पुगेर एक्कासी विद्युत् प्रवाह हुँदा ठूलो मात्रामा शक्ति उत्पन्न हुँदा चर्को आवाज र आगोसहितको विद्युतीय तरङ्ग पृथ्वीको सतहमा आउँदा चट्याङको जोखिम हुन्छ ।

बस्ती, वन बुट्यान र भौगोलिक परिवेशले चट्याङका घटना र विपद् जोखिम निर्धारण गर्दछन् तापनि मूलतः यो एक दुर्घटना हो । चट्याङका कारण विशेषगरी खुला क्षेत्रमा काम गर्ने किसान, मजदुर र पशुपालकको ज्यान जाने गरेको छ । अग्ला भवन, विद्यालय, अस्पताल, सपिङ मल, विद्युत तथा टेलिफोन लाइनजस्ता भौतिक पूर्वाधार संरचनामा चट्याङ निवारक प्रविधि जडान गरेर जनधनको क्षति कम गर्न सकिन्छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रकाशन गरेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी हाते पुस्तकले चट्याङबाट हुने जोखिम घटाउन समयमा पूर्वतयारी र सचेतना अपनाउन सबैलाई आग्रह गरेको छ । प्राधिकरणले आधिकारिक निकायबाट जारी हुने पूर्वसूचना र जानकारीलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिएको हो ।

हाते पुस्तकअनुसार चट्याङका बेला सुरक्षित स्थान र व्यवहारबारे अग्रिम जानकारी राख्नु आवश्यक छ । यसबारे घरपरिवार, छिमेकी तथा समुदायमा छलफल गरी सचेतना फैलाउनुपर्ने उल्लेख गरिएको छ । विद्यालय, कलेज तथा टोलस्तरमा समेत चट्याङबाट जोगिने अभ्यास सञ्चालन गर्न सुझव दिएको छ ।

घरवरिपरि रहेका अग्ला रुखहरू हटाउने वा होचो बनाउने साथै घरको विद्युतीय प्रणालीमा गुणस्तरीय अर्थिङ व्यवस्था गर्नुपर्ने जनाइएको छ । अर्थिङले चट्याङको करेन्टलाई जमिनमा सुरक्षित रूपमा प्रवाह गर्न मद्दत गर्दछ । चट्याङ सक्रिय हुने समयमा अनावश्यक रूपमा विद्युतीय उपकरण प्रयोग नगर्न र जोखिमयुक्त क्षेत्रमा भीड नगर्न पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार